मेयर बालेन्द्र साहलाई सहयोग गर्न गगन थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध नगरी मेयर बालेन्द्र साह (बालेन)लाई सहयोग गर्न आग्रह गरेका छन्।
महामन्त्री थापाले बुधबार सामाजिक सञ्जाल फेसबूक मार्फत आफ्ना भनाइ राख्दै मेयर साह फोहोरको समस्या समाधान गर्न लागिपरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, “अपील गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस्, आउनुहोस्, सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं।”
मेयर साहसँगै काठमाडौंको पूरै टोली फोहोर व्यवस्थापनको समस्या समाधान गर्न खटिइरहेकाले सहयोग गर्न प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्। “महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टीम लागेको छ। सबैले साथ दिऔं, केही समय लाग्ला,” महामन्त्री थापाले भनेका छन्, “यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नुभएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौं।”
फोहोर व्यवस्थापनमा अवरोध नगर्न राजनीतिक दलका कार्यकर्तालाई पनि थापाले अपील गरेका छन्। कांग्रेसले आफ्नो स्थानीय नेता तथा कार्यकर्तालाई अवरोध नगर्न निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन्।
“नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्,” थापाले भनेका छन्, “अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह गर्छु- अवरोध होइन, यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।”
कांग्रेस महामन्त्री गगन थापाको अपील:
काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ। अतः सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरिरहनुभएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकका रूपमा विनीत भएर अपील गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस्, आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं।
निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ- हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टीम लागेको छ। सबैले साथ दिऔं, केही समय लाग्ला, तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नुभएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौं।
कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकारभित्र रहेको विषयमा शहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पूरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौं, साथै शहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौं। केही समय लाग्ला, तर सङ्घीय सरकारले तपाईंहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौं, प्रतिबद्धता पूरा गर्नेछौं, गराउनेछौं। हामी यस पटक तपाईंलाई निराश बनाउनेछैनौं।
नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह गर्छु- अवरोध होइन, यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।
सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौं, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔं, सबैले सहयोग गरौं, समाधान निकालौं।