सीट बाँडफाँडमै अड्कियो गठबन्धन कार्यदल
आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदल सीट बाँडफाँडमै अड्किएको छ।
कार्यदलको समयावधि सकिन लाग्दा पनि कुनै निर्णय गर्न सकेको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन कार्यदलको बैठक पनि निष्कर्षमा पुग्न सकेन।
आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको बैठकमा सीट बाँडफाँडका लागि २०७४ सालको प्रतिनिधि सभाको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार बनाउने सहमति गरेको छ। पहिलो बैठकमा कार्यदलले संयोजक चयन गरेको थियो भने दोस्रो बैैठकमा सीट बाँडफाँडका आधारमा सहमति गरेको थियो।
त्यसयता पटक पटक बैठक बसे पनि सहमति जुट्न सकेको छैन। बुधबारको बैठकमा पनि मोडालिटीबारे छलफल भए पनि सहमति जुट्न नसकेको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले भने, “अहिलेसम्म विभिन्न मोडालिटीमा छलफल गरेका छौं। तिनै मोडालिटीलाई केन्द्रमा राखेर सीट विभाजन गर्ने तय गरेका छौं। सीट विभाजनका विषयमा सहमति हुन बाँकी छ।”
कार्यदलका अर्का सदस्य एवं जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादवले पनि सहमति जुट्न नसकेको बताए। “मोडालिटीमा छलफल त भएको छ, तर कुन दललाई कति सीट दिने भन्ने आधार यकिन हुन सकेको छैन,” यादवले भने।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बुधबारको बैठकमा सीट बाँडफाँडको प्रस्ताव गर्ने तयारी थियो। यस विषयमा शीर्ष नेतासँग छलफल गर्नुपर्ने भन्दै संयोजक सिटौलाले प्रस्ताव पेश नगरेको यादवले बताए। “गृहकार्य पुगेन, अझ गृहकार्य गर्नुहुन्छ,” यादवले भने।
सीट बाँडफाँडको विषयमा सहमति जुट्न नसकेपछि कार्यदलले गठबन्धनका शीर्ष नेतालाई भेट्ने भएको छ। “अहिलेसम्म भएका छलफलका विवरण शीर्षस्थ नेताहरूलाई अवगत गराउँछौं, त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्छौं,” मन्त्री कार्कीले भने।
पहिले कार्यदलका संयोजक सिटौलाले शीर्ष नेतालाई भेट्ने भएका छन्। त्यसपछि कार्यदलका सबै सदस्यले भेट्ने उनले बताए। शीर्ष नेतासँग छलफल गरेपछि फेरि शनिबार कार्यदलको बैठक बस्ने भएको छ।
कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। गठबन्धन कार्यदलमा कांग्रेसबाट सिटौला, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, नेकपा (माओवादी केन्द्र)बाट नेताहरू वर्षमान पुन र देव गुरुङ सदस्य छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।