मूल्यवृद्धि दर दोब्बर, रेमिटेन्स १० खर्ब नाघ्यो
गत आर्थिक वर्षमा मूल्यवृद्धि दर दोब्बर भएको तथ्याङ्कले देखाएको छ। नेपाल राष्ट्र ब्यांकले साउन ३१ गते सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार, बितेको आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि दर ६.३२ प्रतिशत पुगेको छ।
जबकि, त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि दर ३.६ प्रतिशतमा सीमित थियो। विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले पछिल्ला महीनाहरूमा मूल्यवृद्धि चर्किएको राष्ट्र ब्यांकले जनाएको छ।
अघिल्लो वर्षको असारका तुलनामा गत असार महीनामा उपभोक्ता मूल्यवृद्धि आठ प्रतिशत नाघेको छ। जेठमा मूल्यवृद्धि दर ८.५६ प्रतिशत थियो। गत वर्षको शुरुआती महीनाहरूमा मूल्यवृद्धि दर न्यून भएका कारण औसतमा वार्षिक मूल्यवृद्धि दर कम (६.३२ प्रतिशत) देखिएको हो।
गत वर्ष सबैभन्दा धेरै घ्यू तथा तेल र दाल तथा गेडागुडीको मूल्य क्रमशः २६.१३ र ९.९२ प्रतिशतले बढेको छ। यातायातको मूल्य औसतमा १५.८२ प्रतिशत र शिक्षाको मूल्य ८.७८ प्रतिशतले बढेको छ।
मूल्यवृद्धि उच्च भए पनि गत वर्ष वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले मात्रै बढेको छ। राष्ट्र ब्यांकको तथ्याङ्कले अर्थतन्त्रको बाह्य क्षेत्रको असन्तुलन बितेको वर्ष गहिरिएको देखाएको छ।
गत वर्ष देशको बाह्य कारोबारलाई बुझाउने चालू खाता रु.६ खर्ब २३ अर्ब ३३ करोडले घाटामा गएको छ। यो देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा झण्डै १३ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको अनुपातमा चालू खाता घाटा ८ प्रतिशत नाघ्नु राम्रो मानिंदैन।
गत वर्ष देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति रु.दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा गएको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.एक अर्ब २३ करोडले बचतमा थियो। शोधनान्तर स्थिति उच्च घाटामा जानु अर्थतन्त्रका लागि चिन्ताजनक कुरा हो। वैदेशिक व्यापारमा उच्च घाटा बेहोरेका कारण शोधनान्तर घाटा बढेको हो।
बितेको वर्षमा नेपालले रु. तीन खर्बको वस्तु निर्यात गर्यो भने १९ खर्ब २० अर्बको वस्तु आयात गर्यो। अर्थात्, एकै वर्षमा नेपालले वैदेशिक व्यापारमा रु.१७ खर्ब २० अर्ब घाटा बेहोर्यो। यस्तो घाटा बेहोरेका कारण देशको विदेशी विनिमयको सञ्चिति पनि ओरालो लाग्यो। गत असारसम्म आइपुग्दा देशको विदेशी विनिमयको सञ्चिति नौ अर्ब ५४ करोड डलरमा ओर्लिएको छ। यो अघिल्लो असारको तुलनामा करीब १९ प्रतिशतले घटेको हो।
नेपाली अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्दै आएको रेमिटेन्सको आप्रवाह गत वर्ष सामान्य बढेको छ। बितेको वर्ष नेपालमा रु.१० खर्ब सात अर्ब (आठ अर्ब ३३ करोड अमेरिकी डलर) भित्रियो। रेमिटेन्स रु.१० खर्ब नाघेको पहिलो पटक हो।
अमेरिकी डलरका तुलनामा नेपाली मुद्रा अवमूल्यन भएपछि बढी रेमिटेन्स भित्रिएको देखिएको हो। अमेरिकी डलरमा गत वर्ष रेमिटेन्स २.२ प्रतिशतले बढेको छ।