नेपालको पार्टीलाई ‘विशिष्ट रुपमा’ राखेर सीट बाँडफाँडको तयारी
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई ‘विशिष्ट रुपमा’ राखेर गठबन्धन कार्यदलले सीट बाँडफाँडको तयारी गरेको छ।
सत्तारुढ गठबन्धन कार्यदलको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ सालको निर्वाचन र वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई सीट बाँडफाँडका लागि आधार बनाउने सहमति गरेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। “२०७४ सालमा प्राप्त मत, समानुपातिक मत र स्थानीय चुनावमा प्राप्त मतलाई सीट बाँडफाँडका लागि आधार बनाउने सहमति गरेका छौं,” बैठकपछि कार्कीले भने।
यसआधारमा एकीकृत समाजवादीलाई सीट बाँडफाँड गर्न कठिनाइ देखिएको छ। “२०७४ सालको निर्वाचनमा एकीकृत समाजवादी त सहभागी थिएन,” कार्कीले भने, “माधव नेपालको पार्टीलाई विशिष्ट रुपमा राखेर सीट बाँडफाँड तय गर्छौं।”
आजको बैठकमा धेरै विषयमा सहमति जुटेको उनको भनाइ छ। अब बुधबार बस्ने बैठकले केही निचोड निकाल्ने कार्कीले बताए। “फेरि बुधबार बैठक बस्छ, त्यसपछि केही नयाँ कुरा भनौला,” उनले भने।
शीर्ष नेतालाई सहज हुने गरी कार्यदलकै तहमा धेरै विषय मिलाउने प्रयास भइरहेको उनको भनाइ छ। त्यसका लागि कार्यदलले गृहकार्य गरिरहेको कार्कीले बताए।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनले कार्यदल बनाएको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा कांग्रेसका तीन र अन्य पार्टीका दुई–दुई जना सदस्य रहेका छन्।