काठमाडौंको फोहोर व्यवस्थापनमा सत्तारुढ दलकै अवरोध
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सत्तारुढ दलले नै अवरोध गरेका छन्। राजनीतिक दलको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बाटोमै रोकिएका छन्।
आज काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई धादिङको धुनवेशी नगरपालिका–१ मा रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। धुनवेशीका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताले बाटोमै अवरोध गरेको महानगरले जनाएको छ।
काठमाडौंको उपत्यकाको फोहोर यसअघि सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो। सिसडोल क्षेत्र भरिएपछि पछिल्लो समय त्यहाँबाट दुई किलोमिटर टाढाको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ।
प्रभावित क्षेत्रका बासिन्दासँग महानगरले गरेको सहमति कार्यान्वयन नभएको भन्दै सत्तारुढ दलका कार्यकर्ताले अवरोध गरेका हुन्। पटकपटक सहमति गर्दा पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूले जनाएका छन्। प्रभावित क्षेत्रका बासिन्दासँग अहिलेसम्म १७४ पटक सहमति भएको भइसकेको छ।
पछिल्लो साउन २३ गते तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सहमति भएको थियो। त्यसपछि पनि साउन २६ गते काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले स्थानीय बासिन्दासँग सहमति गरेका थिए।
त्यतिवेला भएको १८ बुँदे सहमतिमा रातिको समयमा फोहोर डुवानी गर्ने, सिसडोलमा जस्तो दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्ने, फोहोबाट निस्कने लिच्चड खोलामा नमिलाउने र एक महीनाभित्र बाटोमा लिच्चड नचुहिने व्यवस्था गर्ने, फोहोरको स्रोतमै वर्गीकरण गर्ने लगायतका छन्। तर, महानगरले सहमति कार्यान्वयन नगरेको भन्दै राजनीतिक दल विरोधमा उत्रिएका हुन्।
यसअघि आइतबार कांग्रेस धुनवेशीका सभापति पूर्णसिंह तामाङ, माओवादी धुनवेशीका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी धुनवेशीका अध्यक्ष भिषण धितालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी स्थानीय बासिन्दाको आन्दोलनलाई समर्थन गर्ने जनाएका थिए। स्थानीय बासिन्दाले गरिरहेको आन्दोलनमा आइतबारदेखि नै सहभागिता जनाउने निर्णय भएको जानकारी दिएका थिए।
यसलाई काठमाडौंका मेयर साहले भने फोहोरमा राजनीतिक गरेको प्रतिक्रिया दिएका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका थिए, “फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ। राजनीति त्यस्तो हुदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन। यसमा हेक्का राखौं।”