‘न्याय माग्न आत्मदाहको प्रयास गर्नु देशकै लागि दुःखद घटना’
न्याय माग्न आत्मदाहको प्रयास गर्ने अवस्था आउनु दुःख भएको अधिकारीकर्मीहरू जनाएका छन्।
लोकतान्त्रिक शासन व्यवस्थामा एउटी महिलाले न्यायको माग गर्दै आत्मदाहको प्रयास गर्नु देशकै लागि दुःखद घटना भन्दै महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय संजालले सोनालीकुमारी सिंह (निहारिका) को घटनाबारे सरकारको ध्यानाकर्षढा गराएको छ। केही समयदेखि आफू र आफ्नो बच्चाको अधिकारका लागि निहारिका अनशनमा बस्दै आएकी थिइन्।
उनले आफ्नो बच्चाको डीएनए परीक्षण, लालनपालन, हेरचाह, स्वास्थ्य उपचार, शिक्षा जस्ता आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने माग राखेकी छन्। यससँगै अदालतद्वारा छिटो न्याय प्रवाह गर्नुपर्ने माग गरेकी छन्।
यसअघि आन्दोलनका क्रममा गृह मन्त्रालयले गत असार २ गते उनीसँग सहमति पनि गरेको थियो। तर, माग पूरा नभएपछि उनी फेरि आन्दोलनमा उत्रिएकी हुन्।
आफ्ना आमबुवाको पहिचान गर्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार भएकाले निहारिकाको माग जायज भएको अधिकारवादी संस्थाहरूले बताउँदै आएका छन्। कानूनी व्यवस्थाको बाबजुद पनि एउटी महिलाले विभिन्न लाञ्छना भोग्नु मानव अधिकारको हनन भएको उल्लेख गर्दै निहारिका र उनको बच्चालाई पर्न गएको मनोसामाजिक असरलाई सम्बोधन गर्न सञ्जालले सरकारसँग माग गरेको छ।
सञ्जाल उपाध्यक्ष विमला तामाङ र महिला पुर्नस्थापना केन्द्र (ओरेक) की अध्यक्ष रेणु अधिकारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी निहारिकाको मागलाई सम्बोधन गरी मानव अधिकारको रक्षा गर्नत सरकारको ध्यानाकर्षण गराएका छन्।