विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा
विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन्।
आइतबार बसेको केन्द्रीय समिति बैठकले बाँस्कोटालाई अध्यक्ष चयन गरेको विवेकशील साझाका नेता प्रकाशचन्द्र परियारले बताए। उनी कार्यसम्पादन समिति सदस्य थिइन्।
उनले काठमाडौ स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानूनमै स्नातकोत्तर गरेकी छिन्। उनी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी थिइन्।
यससँगै केन्द्रीय समिति बैठकले अध्यक्षबाट रवीन्द्र मिश्र दिएको राजीनामा स्वीकृत गरेको छ। स्थानीय तहको चुनावमा विवेकशील साझाले सोचेअनुसार जित्न नसकेकाे भन्दै मिश्रले गत जेठमा अध्यक्षबाट राजीनामा दिएका थिए। केन्द्रीय समिति बैठक बस्न नसक्दा राजीनामा स्वीकृत हुन सकेको थिएन।
त्यस्तै, विवेकशील साझाको केन्द्रीय समिति बैठकले संजीववल्लभ भट्टराईलाई संयोजक चयन गरेको छ। उनी पनि कार्यसम्पादन समिति सदस्य थिए।
नयाँ नेतृत्व चयनसँगै विवेकशील साझाले संक्रमणको एउटा चरण पार गरेको नेता परियारले बताए।
त्यस्तै, केन्द्रीय समिति बैठकले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।