यी हुन् मापसेमा कारबाही हुने ६ स्कूल बस चालक
मादक पदार्थ सेवन गरी स्कूल बस चलाउने ६ वटा विद्यालयका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
आइतबार विद्यार्थी बोकेर आइरहेका स्कूल बसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले जाँच गरेको थियो। त्यस क्रममा १४ वटा स्कूल बसलाई विभिन्न कसुरमा कारबाही गरेको प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए। जसमध्ये ६ वटा स्कूल बसका चालकले मापसे गरेको पाइएको हो।
ट्राफिक प्रहरीका अनुसार मापसेमा पर्नेमा ओमेगा सेकेन्डरी स्कूलको बस ‘बा ३ क ९३५’, द टाइम्स इन्टरनेशनल कलेज ‘बा १ क ९४५६’, त्रियोग हाई स्कूल ‘बा १ क ९३५६’, रेडिएन्ट पब्लिक बोर्डिङ स्कूलको ‘बा ८ च ९३८३’, ओरेन्ट इष्ट मन्टेस्वरी स्कूलको ‘बा १८ च ९८०१’ र नितिज बोर्डिङ स्कूलको ‘बीएबी ००६४’ नम्बरको बस रहेका छन्।
स्कूल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कूलका सवारी साधनलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत साउन ८ गतेदेखि ट्राफिक प्रहरीले कारबाही शुरू गरेको हो। कारबाहीमा परेका स्कूल बस चालकले एक हजार रुपैयाँ जरिवाना तथा सचेतना कक्षामा सहभागि हुनुपर्ने एसएसपी भट्टले बताए।