द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारजनको प्रदर्शनमा प्रहरी हस्तक्षेप
संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनको माग गर्दै १७ दिनदेखि धर्ना बस्दै आएका द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाको शान्तिपूर्ण आन्दोलनमा सहभागि २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सैनिक एकल महिला तथा घाइते परिवार समूहका अध्ययक्ष सेवा बीसीका अनुसार आन्दोलनमा सहभागी उनी सहित नौ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा र १५ जनालाई भृकुटीमण्डपमा राखिएको छ।
देशभरका विभिन्न जिल्लाबाट माग पूरा गराउन र सरकारलाई ऐन संशोधन गर्न दबाब दिन बानेश्वरमा धर्ना दिँदै आएका थिए। उनीहरूलाई त्यहिबाट प्रहरीले नियन्त्रणमा लिउको बीसीले बताइन्।
उनीहरूले सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना र सो घटनामा संलग्न व्यक्तिबारे सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक सत्य तथ्य पीडितले जान्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने माग राखेका छन्।
“हामीले शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरीले पटक पटक धरपकड गरी आन्दोलनलाई भड्काउने प्रयास गरिएको छ। हामीलाई कुनै मानव अधिकारकर्मी वा योसँग सम्बन्धित संस्थाहरूले फकाएर यहाँ ल्याएका होइनन्। आफ्नो अधिकारका लागि विभिन्न जिल्लाबाट आफ्नै खर्च उठाएर यहाँ आन्दोलन गर्न आएका हौं,” बिसीले भनिन्।
त्यस्तै, ‘सशस्त्र’ र ‘निशस्त्र’ जस्ता शब्दहरूको परिभाषा स्पष्ट नभएकाले सशस्त्र द्वन्द्वको क्रममा संलग्न सुरक्षाकर्मी तथा निजका परिवारलाई अन्याय परेको हुँदा परिभाषा स्पष्ट हुनुपर्ने माग गरेका छन्। द्वन्द्वपीडित सुरक्षाकर्मी तथा निजका परिवारको उजुरीलाई तामेलीमा राखिएकाले सुरक्षाकर्मी र उनीहरूका परिवार न्यायप्राप्त हुनेमा सशंकित र न्यायिक निकायमाथि भरोसा र विश्वासमा संकट उत्पन्न भएको उल्लेख गर्दै ‘मानव अधिकारको गम्भीर उल्लंघन’ र ‘मानव अधिकारको उल्लंघन’ को परिभाषा स्पष्ट पार्न माग गरेका छन्।
क्षमादान दिने कुरा पीडितको स्वतन्त्र सहमतिमा हुँदा पीडितलाई प्रभावमा पार्न पीडितको विरुद्ध विभिन्न क्रियाकलाप हुने सम्भावना रहेकाले त्यसमा सुधार गर्नुपर्ने तथा विशेष अदालतले गरेको निर्णयमा पीडितलाई चित्त नबुझेमा न्यायिक निकायमा पुनरावेदन गर्न पाउने अधिकारको सुनिश्चित गरिनुपर्ने माग गरेका छन्।