सांसद संख्याका आधारमा सीट बाँडफाँडको तयारी
गठबन्धन कार्यदलले प्रतिनिधि सभामा रहेका सांसद संख्याको आधारमा सीट बाँडफाँड गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदलको बैठकले प्रतिनिधि सभामा रहेका दलका सांसदहरूको संख्याका आधारमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल भएको छ।
“२०७४ सालको चुनावलाई आधार बनाउँदा पनि नेकपा (एकीकृत समाजवादी) को विषय छ। स्थानीय चुनावमा गठबन्धन भएकाले दलका ठ्याक्कै संख्या आउँदैन,” कायदलका सदस्य देव गुरुङले भने, “त्यसैले अहिले सांसद संख्याको आसपासमा सीट बाँडफाँडको मोडालिटी बनाउने कोसिस गरिरहेका छौं।”
आजको बैठकमा पाँचै दलका प्रतिनिधिले आ-आफ्नो दलले पाउनुपर्ने सीटबारे धारणा राखेका छन्। कुनै दलले स्थानीय तहलाई आधारमा बनाउनुपर्ने धारणा राखेका थिए भने कुनै दलको तर्फबाट २०७४ सालको प्रतिनिधि सभाको चुनावलाई आधार बनाउनुपर्ने धारणा राखेका थिए।
त्यसमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई लिने विषयमा छलफल भएको छ। पाँच दलका प्रतिनिधि सभामा प्रतिनिधि गर्ने प्रत्यक्ष र समानुपातिक सांसदलाई आधार बनाउने सैद्धान्तिक सहमति बनेको गुरुङले बताए।
सबैका धारणा सुन्ने र त्यसपछि कसरी मोडालिटी बनाउने भन्ने विषयमा छलफल भएको गुरुङले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले भने, “सीट बाँडफाँडाको मोडालिटीबारे सैद्धान्तिक सहमति बनेको छ। अब अर्को बैठकमा निश्कर्षमा पुग्छौं।”
गठबन्धन कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने भएको छ। कार्यदलको बैठक यसअघि साउन २३ गते बसेको थियो। पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको थियो।