लोसपालाई पनि गठबन्धनमा सामेल गर्ने तयारी
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि पाँच दलीय गठबन्धनमा सामेल गर्ने तयारी भएको छ।
लोसपालाई गठबन्धनमा ल्याउने विषयमा छलफल भइरहेको नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। “लोसपालाई गठबन्धनमा ल्याउने विषयमा शीर्ष नेताका बीचमा छलफल भइरहेको छ,” कार्कीले भने।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्न र गठबन्धनमा सामेल गराउनका लागि लोसपा नेताहरूले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए। आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेताहरूले मिलेरै चुनावमा जान तयार रहेको बताएका थिए। त्यसपछि गठबन्धनका शीर्ष नेताबीच यसबारे छलफल चलेको कार्कीले बताए।
आज बसेको गठबन्धनको कार्यदलको बैठकमा पनि लोसपालाई सामेल गर्ने विषयमा छलफल भएको छ। “लोसपालाई गठबन्धनमा सामेल गर्ने विषयमा कार्यदलको बैठकमा पनि छलफल भएको छ,” बैठकपछि कार्कीले भने।
यससँगै कार्यदलको बैठकमा सीट बाँडफाँडका विषयमा छलफल भएको उनले बताए। “आजको बैठकमा आ–आफ्नो पार्टीको धारणा राख्ने काम भएको छ,” कार्कीले भने। कार्यदलको अर्को बैठक साउन २६ गते ४ बजे बस्ने भएको छ।