सीट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको कार्यदल बालुवाटारमा
आगामी चुनावमा तालमेलका लागि सीट बाँडफाँडबारे छलफल गर्न सत्तारूढ गठबन्धनले बनाएको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।
सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा गरेको छ। त्यसमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलले तालमेल गर्ने निर्णय गरेका छन्। त्यसका लागि सीट बाँडफाँडको खाका बनाउन कार्यदल गठन गरिएको छ।
कार्यदलको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। बैठकमा कार्यदलका सबै सदस्य सहभागी छन्।
गठबन्धनको कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र जनार्दन शर्मा छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद राय र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।