चुनावी तालमेलका लागि देउवालाई ठाकुरको प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी चुनावमा तालमेलका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए। “नागरिकता सम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ,” महतोले भने।
प्रधानमन्त्री देउवाले नागरिकता सम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिएका थिए। त्यस्तै, प्रधानमन्त्री देउवा लोसपासँग सहकार्यका लागि सकारात्मक रहेको महतोले बताए। प्रधानमन्त्री देउवासँगको भेटमा लोसपा पनि पाँच दलीय गठबन्धनमा सहभागी हुने विषयमा सकारात्मक कुराकानी भएको महतोले बताए।
छलफलमा प्रधानमन्त्री देउवासँगै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण सहभागी थिए।
निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ। नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपति समक्ष पुगिसकेको छ।