नेपाल समाजवादीको अध्यक्षमा बाबुराम र महेन्द्रराय
नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन्।
शनिबार सम्पन्न नेसपाको पहिलो केन्द्रीय कमिटी बैठकले भट्टराई र यादवलाई अध्यक्ष चयन गरेको हो। दुवै जना सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको जनाइएको छ।
त्यस्तै, बैठकले सह-अध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ। नेसपाको महासचिवमा रमेश यादव चयन भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)मा विवाद चर्किंदै गएपछि भट्टराई निकट दीपक लामिछानेले २०७८ फागुन ५ गते समावेशी लोकतान्त्रिक पार्टी (सलोपा) दर्ता गराएका थिए। त्यसको नाम परिवर्तन गरेर साउन १२ गते नेपाल समाजवादी पार्टी (नेसपा) बनाइएको थियो।
नेसपाको आज बसेको केन्द्रीय कमिर्टी बैठकले नेतृत्व परिवर्तन गरेको हो। केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै भट्टराईले जसपा विघटनतिर गएपछि नयाँ बाटो रोज्नु परेको बताएका थिए।
यसँगै नेसपाको केन्द्रीय कमिटी बैटकले प्रदेश इन्चार्ज पनि तोकेको छ। प्रदेश १ इन्चार्जमा राजेन्द्र किराती, मधेश इन्चार्जमा देवेन्द्र यादव र बागमती इन्चार्जमा अक्लबहादुर थिङ चयन भएका छन्।
त्यस्तै, गण्डकी इन्चार्जमा मोती रिजाल, लुम्बिनी इन्चार्जमा कमल खनाल, कर्णाली इन्चार्जमा देवीबहादुर बुढाथोकी र सुदूरपश्चिम इन्चार्जमा जनक शाह चयन भएका छन्। गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङलाई जिम्मेवारी दिएको छ।