जसपा विघटनतिर लागेपछि नयाँ बाटो रोज्यौं: बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) विघटनतिर लागेपछि नयाँ बाटो रोजेको बताएका छन्।
शनिबार ललितपुरमा नेपाल समाजवादी पार्टी (नेसपा)को पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै भट्टराईले जसपा रूपान्तरण हुन नसकेपछि नयाँ पार्टी गठन गर्न पुगेको बताएका छन्। “अन्तिमसम्म पनि प्रयत्न गर्यौं। पुरानै बाटोमा हिंड्न अभ्यस्त मान्छेहरूले विघटनतिर लग्न उद्यत भए। त्यसपछि यो रूपान्तरणले हुँदैन, पुनर्गठनै गर्नुपर्छ भन्ने निष्कर्षका साथ पुनर्गठनमा लाग्यौं,” भट्टराईले भने।
उनले जसपालाई क्षेत्रीय सङ्कीर्णवादी दलका रूपमा चित्रण गरे। “जनता समाजवादी पार्टी सङ्कीर्ण क्षेत्रीय दलका रूपमा रुपान्तरण भएको छ, पतन भएको छ। त्यसले अब देशको वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्दैन,” भट्टराईले नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्दै भने, “त्यसैले हामीले फेरि नयाँ ढङ्गले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामी नेपाल समाजवादी पार्टी निर्माण गरेर अगाडि बढेका छौं।”
उनले नयाँ बाटो अप्ठ्यारो भए पनि नयाँ इतिहास रच्ने आँट गरेको बताए। “नयाँ इतिहास शुरू गर्ने हिम्मत र आँट गरेका छौं,” भट्टराईले भने, “नयाँ काम जहिल्यै अप्ठ्यारो हुन्छ। अप्ठ्यारोसँग जुधेर मात्रै ऐतिहासिक रूपान्तरणको काम गर्न सकिन्छ। सजिलो बाटो त जो पनि हिंड्छ।”
नेसपाको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्नेछ। त्यसलाई वैधानिकता दिने प्रक्रिया पूरा भएपछि चुनावी तयारीमा जुट्ने भट्टराईको भनाइ थियो।