सरकार काम चलाऊ भइसक्यो: नेम्बाङ
नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङले चुनाव घोषणासँगै सरकार काम चलाऊ भइसकेको बताएका छन्।
प्रेस चौतारी दाङले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै पूर्व सभामुख नेम्बाङले अब सरकारले दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने जिकिर गरे। उनले भने, “निर्वाचनको मिति घोषणा भएसँगै यो सरकार काम चलाऊ सरकारमा परिणत भएको छ।”
सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ। आगामी चुनावबाट पाँच दलीय गठबन्धनलाई ठेगान लगाइने उनको भनाइ थियो। “यो गठबन्धन केका लागि भनेर जनताले बुझिसकेका छन्। त्यसको फैसला मंसीर ४ गते हुन्छ। जनताले दूधको दूध पानीको पानी छुट्याउनेछन्।”
आगामी चुनावपछि एमाले सरकारको नेतृत्व गर्ने उनको दाबी थियो। “एमाले विरुद्ध जसरी गठबन्धन गरे पनि मंसीर ४ गतेपछि नयाँ जनादेश लिएर सिंहदरबार फर्किन्छौं,” नेम्बाङले भने, “महागठबन्धन गरे पनि एमालेलाई रोक्ने कसैको तागत छैन।”
एक अर्को प्रसङ्गमा पूर्व सभामुख नेम्बाङले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्याधीशको भरमा चलाउनु लज्जाको विषय भएको बताए। चोलेन्द्र शम्शेर राणा विरुद्धको महाअभियोग अहिलेसम्म नटुङ्ग्गाउनु सरकार र सभामुखको कमजोरी भएको उनको भनाइ थियो।