मेलम्चीमा बाढी, तटीय क्षेत्रमा जोखिम
सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ भने तटीय क्षेत्रमा जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
गएरातिदेखि सिन्धुपाल्चोकको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ। जसले गर्दा मेलम्ची नदीमा बाढी आउन थालेको हो।
जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा पछिल्लो तीनदेखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको जनाएको छ। मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढी आउने विभागले चेतावनी दिएको छ।
बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमीनमा पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ।
आज बिहानैदेखि खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए। तालामाराङका बासिन्दा बाढीका कारण घर छोडेर सुरक्षित स्थानमा बसिरहेको स्थानीय योगबहादुर अर्यालले बताए।
त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ। राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ।
पहिरोले केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ। जोखिममा परेका बासिन्दा घर छोडेर सुरक्षित स्थानमा बसिरहेको प्रहरीले जनाएको छ।