कहिले उठिसक्छ काठमाडौंका सडकमा थुप्रिएको फोहोर?
दुई सातादेखि काठमाडौंका सडकमा थुप्रिएको फोहोर पाँच दिनभित्र उठिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउने नियम लागू गरेसँगै फोहोर व्यवस्थापनमा समस्या भएको थियो। उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो वर्षाले भत्किएको थियो।
त्यसपछि सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किलोमिटर बाटो मर्मतका लागि एक साता फोहोर सङ्कलन रोकिएको थियो। सडक मर्मतको काम नसकिएपछि फेरि एक साता फोहोर सङ्कलन नहुने सूचना जारी गरिएको थियो।
तर, साउन तेस्रो साता सकिन लाग्दा पनि फोहोर सङ्कलन नभएपछि स्थानीय बासिन्दाले सडकमा फाल्न थालेका छन्। अहिले काठमाडौं उपत्यकाका सडकमा फोहोर थुप्रिएको छ।
आजदेखि फोहोर उठ्न थालेको काठमाडौं महानगरले जनाएको छ। अहिले दैनिक २०० ट्रकले फोहोर विर्सजन गरिरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। “दैनिक २०० ट्रकले काठमाडौंको फोहोर बन्चरेडाँडामा लगेर विसर्जन गरिरहेका छन्,” प्रवक्ता मानन्धरले भने, “दैनिक यसै गरी फोहोर उठाउन सके अबको पाँच दिनभित्र फोहोर उठाइसक्छौं।”
एक महीनाअघि काठमाडौं महानगर र स्थानीय बासिन्दाबीच लिचडको व्यवस्थापन गर्ने, सडक मर्मत गर्ने, दुर्गन्ध हटाउने विषयमा सहमति भएको थियो। बन्चरेडाँडा क्षेत्रका बासिन्दासँग भएको सहमति अनुसार, सडक मर्मत भइसकेको मानन्धरले बताए।
उनीहरूका अन्य माग पनि पूरा गर्न लागिएकाले फोहोर व्यवस्थापनमा समस्या नहुने उनको भनाइ छ। “बाटो मर्मत भइसकेको छ, दैनिक फोहोर विसर्जन गर्ने गाडीको संख्या पनि बढ्छ,” प्रवक्ता मानन्धरले भने, “अब कुनै अवरोध हुँदैन।”
काठमाडौं उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर निस्कने गरेको छ। यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरबाट ५०० मेट्रिक टन फोहोर निस्कने गर्छ।