‘प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई फोन गर्न खोज्दा सम्पर्क हुन सकेन’
सत्ता गठबन्धनका नेताहरूले निर्वाचनको मिति घोषणा गर्नु अगावै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन सम्पर्कको प्रयास गरेको बताएका छन्।
सरकारले साउन १९ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसीर ४ गते गर्ने निर्णय गरेको थियो। निर्वाचनको मितिबारे सत्ता गठबन्धनले प्रतिपक्षी दलसँग छलफल गरेन।
प्रतिपक्षी दलसँग छलफल गर्ने परम्परा यस पटक सरकारले तोडेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, “मन्त्रिपरिषद् बैठक शुरू हुनु अगाडि प्रधानमन्त्रीले एमाले अध्यक्षलाई फोन गर्ने कोशिश गर्नुभएको थियो, तर संवाद हुन सकेन। त्यति वेला म पनि प्रधानमन्त्रीज्यूसँगै थिएँ।”
साउन १८ गते बसेको सत्तारुढ गठबन्धनको बैठकले आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने सहमति गरेको थियो। त्यसकै आधारमा साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गरेको हो।