गठबन्धनमा सिट बाँडफाँड गर्न कार्यदल गठन
सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा हुने तालमेलका लागि सीट बाँडफाँड गर्न कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले सीट बाँडफाँडका लागि कार्यदल गठन गरेको कांग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्कीले भने, “आगामी चुनावमा पाँच दलबीच तालमेल गर्ने निर्णय भएको छ, सीट बाँडफाँडका लागि कार्यदल गठन गरेको छ।”
गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको हो। जसमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेका छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।
कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आकलन गरी सीट बाँडफाँडको खाका तयार गर्नेछ। त्यसका आधारमा गठबन्धनका शीर्ष नेताको बैठकले भदौ पहिलो साता सीट बाँडफाँडका विषयमा निर्णय गर्ने कार्कीले बताए।
सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने घोषणा गरेको छ। आगामी चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने निर्णय गरिसकेको छ।