चुनावका लागि तेस्रो मोर्चा बनाउँछौं: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा ‘थर्ड पोल (तेस्रो शक्ति)’ बनाएर जाने बताएका छन्।
अध्यक्ष नेपालले मोर्चामा आफ्नो पार्टी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहने बताए। साउन १९ गते काठमाडौंमा एमाले र माओवादी एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण गर्दै उनले भने, “कांग्रेसलाई हामी सबथोक हौं भन्ने परेको हुन सक्छ, अर्को एउटा पार्टीलाई त परेकै छ- मै हुँ सर्वेसर्वा भन्ने। सर्वेसर्वा मै हुँ भन्नेले बिगारेको छ, त्यही भएर हामी पनि केही हुँ भन्ने वेला छ।”
चुनावको मुखमा आएर हात्ती आयो हात्ती आयो फुस्सा भयो भने के गर्ने भनेर अहिले नै तयारी गरेर जान लागेको नेपालको भनाइ थियो। “अन्तिम अवस्थामा आएर यति लिने भए लेऊ नत्र जाऊ भन्यो भने के गर्ने, रोएर बस्ने? त्यस कारण समय हुँदै होश गरेर आफ्नो शक्ति तयार गर्नुपर्दछ,” अध्यक्ष नेपालले भने।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सत्ता गठबन्धन मिलेरै चुनावमा जान लागेको बताए। साउन २० गते बैठक बसेर गठबन्धन कायम रहने घोषणा गर्ने उनले जानकारी दिए।
आगामी चुनावमा वामपन्थी दलहरू मिलेर जानुपर्नेमा उनको जोड थियो। नेपालले भने, “वामहरू मिलेर जानुपर्ने छ, तर एकअर्काको अस्तित्व स्विकार्नेहरू, मन मिल्ने, विचार मिल्नेहरू मात्रै।”