पेट्रोल–डिजेल भारततर्फ तस्करी हुँदै
पेट्रोलियम पदार्थको मूल्य भारतभन्दा नेपालमा सस्तो भएपछि पर्साको ग्रमिण क्षेत्रबाट भारततर्फ डिजल–पेट्रोल तस्करी बढेको छ ।
तस्करहरुले पेट्रोल डिजेल ग्यालेनमा भरेर साइकल, मोटरसाइकल र पैदलै समेत भारततर्फ तस्करी गरिरहेका छन् ।
त्यसरी लगिएको इन्धन सीमाक्षेत्रका भारतीय पेट्रोल पम्पहरुमा समेत पुग्ने गरेको छ ।
पर्साको सम्भौता गाविसको टिहुकी र भेडिअर्वा, मिर्जापुरको भलुवहिया, जानकिटोलाको दसौता, पाँडेपुर, पिडारीगुठी गाविसको विसुनपुर्वा, महादेवपट्टी गाविसको बलुवा नाकाबाट व्यापक मात्रामा पेट्रोल डिजलको तस्करी भईरहेको छ ।
पेट्रोल पम्पका सञ्चालकहरुले किसानहरु जाँदा डिजल छैन भनेपनि तस्करहरुलाई मागेजति उपलब्ध गराउने गरेका छन् ।
“अहिले धमाधम गहुँ खेती र धान झार्ने सिजन छ । “हामीले खेतीका लागि विभिन्न मेसिन चलाउन डिजल पाउँदैनौ तर तस्करहरुले पारी पु¥याईरहेका छन्,” लंगडीका लालबाबु पटेलले गुनासो गरे ।
ग्रामिण क्षेत्रका पेट्रोल पम्पहरुबाट सजिलै पेट्रोल–डिजेल नपाइए पनि बोत्तल र ग्यालेनमा पेट्रोल बेच्ने मिनी पेट्रोलपम्पहरु खुलेका छन् ।
उनीहरुले एउटा मिनरल वाटरको वोत्तलमा भरिएको पेट्रोल रु १०५ देखि ११० सम्ममा बेच्ने गरेका छन् ।
नेपालमा डिजलको मूल्य प्रतिलिटर रु ५६ (भारु ४६) पर्छ भने भारतमा भारु ५७ मा बिक्री भइरहेको छ । त्यस्तै पेट्रोल प्रतिलिटर रु ९६ (भारु ६०) पर्छ भने भारतमा भारु ६८ मा बिक्री हुने गरेको छ ।
केहीदिन अघि भारतीय सीमा सुरक्षा बल एसएसबीले तस्करीको तेल सहित पर्साको सम्भौता गाविसको चरगाहा टोलका प्रमोद साह कानुलाई पक्रेर कारबाही पनि चलाई सकेको छ ।
भेडिअर्वा एसएसबी क्याम्पको टोलीले उनलाई साईकलमा ६० लिटर डिजेल मैनाटाँड तर्फ लैजाँदै गर्दा पक्राउ गरेको र आवश्यक कारबाहीका लागि पुरुषोत्तमपुर थानामा बुझाईसकेकोे एसएसबीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज