साफ यू–२० च्याम्पियनशिप: नेपाल र बाङ्लादेशले अङ्क बाँडे
साफ यू–२० च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका छन्।
साउन १७ गते भारतमा भएको खेलमा दुवै टीमले मध्यान्तरपछि गोल गरेका हुन्। खेलको ६३औं मिनेटमा मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बाङ्लादेशलाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। वैकल्पिक खेलाडी निरञ्जन मल्लले गोल गर्दै नेपाललाई लयमा फर्काएका थिए। त्यसपछि दुवैतर्फ गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो।
दोस्रो हाफको शुरूआतमा नै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले मैदानमा रहेका दुई र बेन्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए। बाङ्लादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दीपेश गुरुङ सीधै रातो कार्ड पाउँदै बाहिरिएका थिए। मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाएका थिए।
बराबरी खेलेसँगै नेपालले अङ्कतालिकामा एक खेल कम खेलेको भारतलाई भने उछिनेको छ। नेपालको फाइनल पुग्ने सम्भावनाका लागि अब माल्दिभ्सले भारतलाई हराउनुपर्नेछ। यदि भारतले माल्दिभ्सलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने सपना समाप्त हुनेछ। नेपालले चार खेलबाट सात अङ्क जोडेको छ। समान खेलबाट १० अङ्क जोडेको बाङ्लादेश फाइनल पुगेको छ। भारत र माल्दिभ्सले आज साँझ ७:१५ बजे अन्तिम लिग खेल खेल्नेछन्।