बीपी प्रतिष्ठानका नियुक्ति नसच्याए आन्दोलन गर्ने डा. केसीको चेतावनी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भागबण्डाका आधारमा रजिस्ट्रार नियुक्त गरेको भन्दै डा. गोविन्द केसीले विरोध जनाएका छन्। तत्काल नियुक्ति नसच्याए जुनसुकै वेला सत्याग्रहमा बस्ने डा.केसीले चेतावनी दिएका छन्।
सरकारले यही साउन १५ गते प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य संग्रौला र अस्पताल निर्देशकमा जगत प्रसादलाई नियुक्त गरेको थियो। डा. संगौला कांग्रेस नेत्री डिला संग्रौलाका श्रीमान् हुन्।
त्यस्तै, अस्पतालका निर्देशक जगत प्रसादलाई उपकुलपति ज्ञानेन्द्र कार्कीले सिफारिश गरेका हुन्। उनी यसअघि कार्यकारी निर्देशक थिए।
प्रतिष्ठान सुधार र शुद्धीकरणका लागि लामो समयदेखि आन्दोलन चलिरहेको छ। शुद्धीकरण अभियानमा होमिएका प्राध्यापकले प्रतिष्ठानका उपकुलपति सहित पदाधिकारीमाथि कारबाही गर्न माग गरिरहेका छन्।
यस्तो वेला सरकारले कुनै आधार र मापदण्ड विना कनिष्ठ तथा अनियमिततामा मुछिएका व्यक्तिहरूलाई पदाधिकारीमा नियुक्त गरेको भन्दै डा. केसीले विरोध जनाएका हुन्। सरकारले नै गठन गरेका छानबिन समितिले दिएका प्रतिवेदन विपरीत गरिएको रजिस्ट्रार र निर्देशकको नियुक्ति सच्याउन डा. केसीले ध्यानाकर्षण गराएका छन्।
त्यस्तै, प्रतिष्ठानका उपकुलपतिलाई कारबाही गर्न तथा सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्न, चिकित्सा शिक्षा ऐनमा तोकिए अनुसार २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न र चिकित्सा शिक्षालाई २०८५ भित्र गैरनाफामूलक बनाउन उनले माग गरेका छन्।
डा. केसीले विज्ञिप्त जारी गर्दै भनेका छन्, “हामीसित सम्झौता भए बमोजिम पदाधिकारी नियुक्तिको मापदण्ड सम्बन्धी कानूनी व्यवस्था समयमै गरिएको भए बीपी प्रतिष्ठानको पछिल्लो नियुक्ति जस्ता अनियमितताहरू रोकिने थिए र संस्थाहरूको बर्बादी पनि रोकिने थियो।”