कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ।
मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सात वटै प्रदेशमा रहेका १७ संघ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको बताए।
उनका अनुसार, प्रदेश १ को कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा उपचारको व्यवस्था गरिएको छ।
त्यस्तै, बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बाग्लुङ तोकिएका छन्।
लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालमा कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था गरिएको उनले बताए।