अयोध्याको राम मन्दिरमा नेपालमा निर्मित धातुको धनुष राखिने
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा नेपालमा बनाइएको धातुको धनुष राखिने भएको छ।
अयोध्या भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीका तर्फबाट नेपालमा निर्मित धातुको धनुष राख्न प्रस्ताव राखेकामा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय सकारात्मक जवाफ दिएका हुन्। उनले समितिमा छलफल गरी सहमत गराउने वचन निधिलाई दिएका छन्।
शनिबार निधिसँगको छलफलमा रायले व्यक्तिगत रूपमा आफू पूर्ण सहमत भएको बताउँदै राम मन्दिर ट्रस्ट तथा निर्माण समितिमा प्रस्ताव राखी निर्णय गर्नुपर्ने प्रक्रियबारे जानकारी दिए। रायले भने‚ “मलाई विश्वास छ‚ त्यो प्रस्तावमा सबैले सहमति जनाउनुहुनेछ।”
छलफलमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास लगायत जनकपुरबासी तथा राम मन्दिर ट्रस्टका सदस्य अनिल मिश्र लगायत सहभागी थिए। उक्त अवसरमा निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्शा हस्तान्तरण गरेका थिए। यसैबीच, राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने विषयमा पनि छलफल भएको थियो।