बन्चरेडाँडामा भदौबाट फोहोर फाल्न नदिइने
बन्चरेडाँडा ल्यान्डफिल साइटका बासिन्दाले भदौदेखि फोहोर फाल्न नदिने भएका छन्।
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बिहीबार पत्रकार सम्मेलन गरी भदौ १ गतेदेखि फोहोर फाल्न नदिने जनाएको छ। सरकार र काठमाडौं महानगरपालिकासँग पटक पटक गरिएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्दा स्थानीय बासिन्दा समस्यामा परेको सरोकार समितिले जनाएको छ। बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय बासिन्दा राजन न्यौपानेले अब फोहोर फाल्न नदिने बताए।
“खोलामा फोहोरका लिचेड बगेको छ। खेतीपाती गर्न सकिएको छैन,” उनले भने, “अब यो सहेर बस्दैनौं। भदौ १ गतेदेखि फोहोर बन्द गर्छौं।”
यतिका वर्षसम्म काठमाडौं महानगर र सरकारले राम्रो बाटो समेत नबनाएको उनीहरूको भनाइ छ। “हुम्ला, जुम्लामा बाटो राम्रो बन्न लागिसक्यो। तर, फोहोर लाने बाटो किन बनाइँदैन,” न्यौपानेले भने, “हामीले विकास मागेका छैनौं। फोहोर फाल्ने बाटो बनाऊ भनेका हौं, त्यो पनि भएन।”
अहिलेसम्म सरकारसँग १७४ पटक सहमति भएको अर्का स्थानीय मनोज तामाङले बताए। “अहिलेसम्म आन्दोलन गर्यौं, अब आन्दोलन गर्दैनौं। फोहोर फाल्नै बन्द गर्छौं,” उनले भने।
संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले अब फोहोर फाल्नै बन्द गरिने बताए। जति गर्दा पनि काठमाडौं महानगर र सरकारले वास्ता नगरेपछि अनिश्चितकालका लागि फोहोर फाल्न रोक्ने अवस्थामा पुगेको उनको भनाइ छ।