गत वर्षको व्यापार घाटा १७ खर्ब २० अर्ब, तीन खर्ब ८४ अर्बको पेट्रोलियम पदार्थ आयात
बितेको वर्ष नेपालले वैदेशिक व्यापारमा रु.१७ खर्ब २० अर्ब घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार, विदेशसँगको वस्तु कारोबारमा अघिल्लो वर्षभन्दा घाटा रकम २३ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा रु.१३ खर्ब ९८ अर्ब मात्रै थियो। गत वर्ष नेपालले रु.१९ खर्ब २० अर्बको आयात गरेकोमा जम्मा रु.दुई खर्बको मात्रै निर्यात थियो। सरकारले सवारी साधन सहितका विलासी वस्तुको आयात रोके पनि आयात उच्च नै रहेको देखिएको छ।
उच्च व्यापार घाटाले नेपाली अर्थतन्त्रलाई पछिल्ला महीनाहरूमा खलबल्याएको छ। आयात गर्न विदेशी मुद्रा धेरै बाहिरिन थालेपछि पछिल्ला महीनाहरूमा सरकारको विदेशी मुद्रा सञ्चिति ओरालो लागेको छ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। गत वर्ष नेपालले करीब रु.तीन खर्ब ८४ अर्ब मूल्यको पेट्रोलियम पदार्थ आयात गरेको थियो। जुन कुल आयातको २० प्रतिशत हो। आर्थिक वर्ष २०७७/७८ मा नेपालले रु.दुई खर्ब १४ अर्बको मात्रै पेट्रोलियम पदार्थ आयात गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालले आयातका लागि उच्च रकम बुझाउनुपरेको हो। एकै वर्षका बीचमा पेट्रोलियम पदार्थ आयातमा नेपालले रु.एक खर्ब ७० अर्ब बढी बुझाउनुपरेको हो।
दोस्रो उच्च आयात हुनेमा कृषिजन्य वस्तु छन्। विभागका अनुसार‚ नेपालले गत आर्थिक वर्षमा रु.तीन खर्ब ७८ अर्ब बराबरको कृषिजन्य वस्तु आयात गरेको छ। त्यसै गरी, रु.एक खर्ब ८५ अर्ब मूल्यको फलाम र फलामसँग सम्बन्धित वस्तु, रु.एक खर्ब ४४ अर्बको मशिन, रु.एक खर्ब २२ अर्बको विद्युतीय सामग्री आयात भएको छ। पछिल्ला महीनाहरूमा सवारी साधनको आयात रोकिए पनि बितेको वर्ष झण्डै रु.एक खर्बको सवारी साधन र यसका पार्टपुर्जा आयात भएको छ। गत वर्ष झण्डै रु.७२ अर्बको औषधि आयात गरिएको छ।
नेपालले निर्यात गरेको प्रमुख वस्तुमा तेल रहेको छ। गत वर्ष नेपालले रु.९३ अर्ब ७४ करोडको तेल निर्यात गरेको छ। नेपालमा तेल उत्पादन नभए पनि विदेशबाट पाम आयल र भटमासको तेल आयात गरी सामान्य प्रशोधनपछि विदेश निर्यात गरिएको हो। त्यसै गरी, रु.नौ अर्ब ३८ करोडको चिया तथा कफी र रु.१० अर्बको कार्पेट निर्यात गरेको छ।