चीन फर्कन नपाएका एमबीबीएसका १५० विद्यार्थीले नेपालमै पढ्न पाउने
कोभिड-१९ का कारण चीनबाट बीचमै अध्ययन छोडेर नेपाल फर्किएका एमबीबीएसका १५० जना विद्यार्थीले नेपालमै थप अध्ययन गर्न पाउने भएका छन्।
एमबीबीएस अध्ययनका लागि सन् २०१६ मा चीनका विभिन्न मेडिकल कलेजमा भर्ना भएका विद्यार्थी कोभिड-१९ महामारी शुरू भएपछि साढे दुई वर्ष अध्ययन समय बाँकी रहँदै नेपाल आएका थिए।
उनीहरू नेपाल आएपछि चीन सरकारले कुनै पनि विद्यार्थीलाई पुनः अध्ययनका लागि जान दिएको थिएन। बीचमै अध्ययन छोडेर फर्किएका विद्यार्थी पुनः चीन जान नसक्ने भएपछि सरकारले नेपालमै बाँकी समय अध्ययन गराउन दिने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सहमतिमा थप समय नेपालमै अध्ययन तथा इन्टर्नशिप गराउन मेडिकल काउन्सिलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाएको हो।
सन् २०१६ मा अध्ययन शुरू गरी बीचमै छोडेर १५० विद्यार्थी फर्किएका थिए। यसअघि फिलिपिन्सबाट अध्ययन गरी आएका ६ जना विद्यार्थीलाई पनि काउन्सिलले नेपालमै अध्ययन गर्न सहमति दिएको थियो। सरकारले सन् २०१४ र २०१५ मा चीन गएका विद्यार्थीको पनि नेपालमै इन्टर्नशिप गर्ने व्यवस्था गरेको थियो।
चीन फर्कन नपाएका विद्यार्थीलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नशिप गरी चिकित्सकीय अभ्यास तथा तालीमको व्यवस्था गर्न दिइनेछ। उनीहरूले विश्वविद्यालयले तोके बमोजिम एक वर्ष अनिवार्य इन्टर्नशिप गर्नुपर्नेछ।
त्यसै गरी, इन्टर्नशिपभन्दा पहिलेको एक वर्षे अध्ययनका हकमा चार वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पेडियाट्रिक्स समावेश गर्नुपर्ने मेडिकल काउन्सिलले जनाएको छ।
अब उप्रान्त कोभिड-१९ सँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने समेत काउन्सिलले निर्णय गरेको छ।