शिक्षक मासिकका सम्पादकलाई सम्मान
शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले ‘तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ प्राप्त गरेका छन्।
सम्पादक दाहाललाई विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.ले ५१ हजार रुपैयाँ राशिको सम्मान प्रदान गरेको हो।
प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सम्पादक दाहाललाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन्। विराटनगरका पुराना स्वतन्त्रता सेनानी एवं समाजसेवी तोरेन्द्रमान सिंह प्रधान र इन्दिरा प्रधानको स्मृतिमा उनीहरूकी छोरी डा. सम्झना प्रधानद्वारा स्थापित ‘तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ को सञ्चालन र व्यवस्थापन सञ्चारकर्मी सञ्चार सहकारीले गर्दै आएको छ।
यस्तै, ‘समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको प्रवर्धनमा उल्लेखनीय योगदान गरे बापत’ मोरङकै कटहरीको जीवन विकास समाजले २०७७ सालको जीवन–विकास पुरस्कार शिक्षक मासिकलाई प्रदान गरेको छ। दुई लाख रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित एक समारोहमा शिक्षकका सम्पादक दाहाललाई प्रदान गरेकी थिइन्।