गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।
गैरआवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यशालामा ढकालले नेपालमा लगानी गर्ने उपयुक्त अवसर रहेकाले सामूहिक रूपमा लगानी गर्न गैरआवसीय नेपालीलाई आग्रह गरे।
“मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चापबाट गुज्रिएको छ। नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहरूलाई यो उपयुक्त अवसर हो‚” उनले भने‚ “प्रत्येक मुलुकको वा शहरको समूह बनाई कलेक्टिभ रूपमा ठूला ठूला आयोजनाहरूमा लगानी विस्तार गर्नुहोस्। तपाईंले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ।”
नेपालमा लगानी गर्न र लगानीपछि आउने प्रतिफल लैजान समस्या भए त्यसलाई समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्ने ढकालले आश्वासन दिए। “नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईंहरूको लगानीको प्रतिफल लैजान केही समस्या परे हामी तपाईंहरूसँगै हुनेछौं‚” उनले भने‚ “यहाँहरूलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रका तर्फबाट आवश्यक पहल गर्ने म प्रतिबद्धता जनाउन चाहन्छु।”
यस्तै‚ वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको अर्थतन्त्रका केही सूचकहरू नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने दाबी गरे। “नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन। श्रीलंका ठूलो विदेशी ऋणमा छ। हामी त्यस्तो अवस्थामा छैनौं‚” उनले भने‚ “अर्को कुरा, उनीहरूको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिटेन्सको भूमिका फरक खालको छ। त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौं र त्यो बाटोमा पनि छैनौं।”