स्वास्थ्य बीमाको भुक्तानी छिटो गराउन तेस्रो पक्ष व्यवस्थापन प्रविधि लागू गर्ने तयारी
स्वास्थ्य बीमा बोर्डले बीमामा आवद्ध घर संख्या ३३ प्रतिशतबाट ५० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ।
बोर्डले आर्थिक वर्ष २०७९र८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेवाग्राही बढाउने लक्ष्य लिएको जनाएको हो। अहिलेसम्म बीमा कार्यक्रममा १७ लाख ४३ हजार ४७ परिवार अर्थात ३२.१४ प्रतिशत परिवार र ५६ लाख ५७ हजार ७२५ अर्थात २१.३५ प्रतिशत नागरिक आवद्ध भएका छन्।
स्वास्थ्य बीमा कार्यक्रमको रकम भुक्तानी गर्दा धेरै समय लाग्ने गरेकाले दाबी मूल्यांकनको लागि तेस्रो पक्ष व्यवस्थापन प्रविधि (थर्ड पार्टी एडमिनिस्ट्रेटर)लाई परीक्षण गरि लागू गर्ने बोर्डले जनाएको छ। यो प्रविधि लागू भएमा बीमा भुक्तानी आइपर्ने प्रक्रियागत झन्झटमा कमी आउने बोर्डको विस्वास छ।
बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्नका लागि बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत प्राप्त सूचनालाई व्यवस्थित गरी तथ्य पत्ता लगाउने, सेवाग्राही र सेवा प्रदायक स्वास्थ्य संस्थाका आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यका आधारमा योजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरी स्मार्ट कार्ड प्रविधि अपनाई क्रमशः लागू गर्दै लगिने बोर्डको नीति छ। यससँगै कडा रोगको उपचारसँग सम्बन्धित कार्यक्रमलाई बीमा व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्यविधि, निर्देशिकाका साथै अन्य व्यवस्थापन गर्ने र स्वास्थ्य बीमा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने बीमा बोर्डको नीतिका उल्लेख छ।
नागरिकको आवद्धता र नवीकरणको गर्नका लागि ड्रप आउट बढी भएको र आवद्धता कम भएका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गरिने भएको छ।