हैजा पनि बढ्दै, थप तीनमा सङ्क्रमण पुष्टि
काठमाडौं उपत्यकामा हैजाका बिरामी पनि बढ्दै गएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप तीन जनामा हैजा देखिएको छ। योसँगै काठमाडौंमा हैजाका बिरामीको सङ्ख्या ३४ पुगेको छ।
उनीहरूमध्ये तीन जना पाँच वर्षमुनिका बालबालिका छन्। त्यस्तै, ६५ वर्षमाथिका एक जना ज्येष्ठ नागरिकमा पनि हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंको बागबजारमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसयता हैजाका बिरामी बढ्दै आएका छन्।
अहिलेसम्म बागबजारसँगै बोहराटार, कपन, डिल्लीबजार र सानेपामा हैजा देखिएको छ। हैजा नियन्त्रणका लागि प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।