हरुवाचरुवा राख्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले हरुवाचरुवा राख्नेलाई कानून अनुसार कारबाही गर्न निर्देशन दिएका छन्।
कमैया मुक्त घोषणाको २२ वर्ष पुगेको अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कानूनको कार्यान्वयन गर्न र गराउन निर्देशन दिएका हुन्।
“कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८ मार्फत हरुवाचरुवा लगायत सबै किसिमका कमैया श्रमिक परिवारहरूको मुक्ति, असमान श्रम सम्बन्ध र शोषणयुक्त प्रथाको अन्त्य तथा ऋणमोचन गरिसकिएको छ,” प्रधानमन्त्री देउवाले भने, “यसका बावजूद कहीं कतै कुनै बहानामा सो प्रथाको अवशेष बाँकी रहेको वा उक्त ऐनको पूर्ण कार्यान्वयन हुन नसकेको अवस्था रहेछ भने सो विषय कानूनको गम्भीर उल्लंघन भएको विषय हुने कुरा स्पष्ट पार्न चाहन्छु।”
उनले ऐनको कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। “म आजकै मितिबाट पुनः एकपल्ट सो ऐनको पूर्ण कार्यान्वयन गर्न, गराउन सम्बन्धित सबै सरोकारावालाहरूको गम्भीर ध्यानाकर्षण गराउँछु,” देउवाले भने, “ऐनको व्यवस्थाको प्रभावकारी पालना भए/नभएको सघन अनुगमन गर्न समेत सम्बन्धित मन्त्रालय र सो मातहतका निकायहरूलाई निर्देशन दिन चाहन्छु।”
यससँगै प्रधानमन्त्री देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।