वर्षौं निःशुल्क सिकाउने २५० गुरूलाई सम्मान
_1657721614.jpg)
गुरू पूर्णिमाका अवसरमा ज्यापु समाज यलले वर्षौ निःशुल्क सेवा गरेका गुरूलाई सम्मान गरेको छ।
हाहाहा...जि नाथ हे प्रभु
च्वायु थें वर्ण रे हाजे...हाहाहा।
८२ वर्षीय हरि महर्जनले यो भजनलाई ४० वर्ष जति गाए। आफूले हजारौँ पटक दोहोर्याएर गाएको भजनका अहिले भने ११ वटा मात्र शब्द मात्रै याद छन्।
ललितपुरको कुतिसौग टोलमा २२ वर्षको उमेरदेखि भजन गाउँ थालेका उनले बिहान, बेलुका, जात्रा, पर्व कहिँ छुटाएनन्। ६० वर्षको उमेरसम्म टोलको फल्चा, पार्टीमा भजन गाएका उनले त्यसबापत एक रुपैयाँ पनि लिएनन्। “पैसा लिएको छैन। आफूलाई रमाईलो भएर पनि भजन गाईरहेँ,” महर्जन भन्छन्।
हरि महर्जन।उनले आफ्नो संस्कार र संस्कृति जोगाउन गरेको सेवाको मूल्यांकन गर्दै ज्यापू समाज यलले गुरु पूर्णिमाको अवसर बुधबार सम्मानित गरेको छ। सङ्खमुलस्थि यल दरवारमा आयोजित समारोहमा उनीजस्तै २५० जना गुरू सम्मानित भएका छन्।
छोरी सुर्वणसँगै यल दरबार पुगेका महर्जनले नेवार समुदायमा भजनको खुब महत्त्व भएको बताए। सयौं भजन लेखन तथा गायन गरेका उनले भने, “हामीले हाम्रो संस्कार बचाउन गरेको काम हो। यसबाटै सम्मान पाउँदा खुशी छु।”
यस खुशीको अवसरमा उनले आफ्ना गुरुलाई पनि सम्झिए। “मलाई भजन लेख्न र गाउन सिकाउने मेरा गुरु वेखा सिं हुनुहुन्थ्यो। अहिले आफै गुरु भए,” उनी फिस्स हासे।
उनको हाँसोमा सार मिलाउँदै छेउमै बसेका उनका शिष्य सानु महर्जनले भने, “मलाई त भजन गाउन सबैभन्दा पहिला हरि गुरुले सिकाएको हो। उहाँप्रति सधै आभारी छु।”
उनी जस्तै १८ वर्षको उमेरदेखि खिःबाजा बजाएका अर्का मंगल दास पनि सम्मानित भए। लौरोको सहायतामा यल दरबार पुगेका ७८ वर्षीय दास अक्षर चिन्दैनन्। उनले बजाएको बाजाले सबैलाई मन्त्रमुग्ध पार्छ। “सबैले राम्रो बजाउँछ भन्दाभन्दै मलाई पनि रमाइलो लाग्यो, बाजा बजाइरहेँ,” उनी भन्छन्।
मंगल दास।उनी अहिले पनि फल्चाहरूमा साँझ बाजा बजाउन पुग्छन। खेती किसानीले नै जीवन चलाए पनि रमाईलो र आनन्द हुने माध्यम ठान्छन् भजनकीर्तन। “यहि गरेर सम्मान पनि पाएँ। खुशी हुँदो रहेछ,” दासले भने।
गुरू पूर्णिमाका दिन गुरूहरूलाई सम्मान गर्न पाउँनु गर्वको विषय भएको समाजका वरिष्ट उपाध्यक्ष सन्तमान महर्जनले बताए। ३० देखि ९० वर्षसम्मका गुरूलाई सम्मान गरेको संस्थाका उपाध्यक्ष महर्जन उनीहरूले निःशुल्क सेवा गरेको बताए।
ललितपुरका ४० टोलका गुरुहरूलाई सम्मान गरिएको कार्यक्रमको उद्देश्यबारे बताउँदै महर्जनले भने, “उहाँहरूलाई हाम्रो कला, संस्कृति बचाउन गर्नुभएको योगदानलाई सम्मान गरे नयाँ पुस्ताले पनि सिक्छ भन्ने हो।”
य

सरी मादल, धिमे, खि, ढोलक, डमरु, बासुरी लगायत गायन र बाद्यवाजनका गुरूहरूलाई सम्मानसँगै ज्यापुसमाजले तालिम पनि दिने गरेको छ। समसामयिक ज्ञान, स्तरवृद्धि र क्षमता अभिवृद्धिका लागि आयोजना गर्ने तलिममा पुरानो र नयाँ पुस्ताबीच साक्षतकार हुने गरेको उनी बताउँछन्।
“नाम संगीत, दाफा भजन वा धिमेहरुमा पहिले महिला हुदैन थिए,” संस्थाकी तृतीय उपाध्यक्ष वीरबहादुर महर्जनले भने, “अब महिलाले पनि तालिम लिएका छन्। यो सकारात्मक परिर्वतन पुरानो पुस्ताको पालामा नै भएको छ।”
.jpg)