आज १७७ जनामा संक्रमण पुष्टि
नेपालमा केही दिनयता कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार‚ मंगलबार १७७ जनामा संक्रमण देखिएको छ। सोमबार १६८ जना र आइतबार १२१ जनामा संक्रमण देखिएको थियो।
मंगलबार तीन हजार १२६ जनाको परीक्षण गरिएको थियो। जसमध्ये एक हजार ८०५ जनाको पीसीआर गर्दा १४४ जनामा कोभिड-१९ संक्रमण देखिएको हो। यस्तै‚ एक हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ। जसमध्ये काठमाडौंमा ५२५‚ भक्तपुरमा ४ र ललितपुरमा ६७ जना रहेका छन्। बाँकी उपत्यकाबाहिरका छन्।
पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।