व्यक्तित्व बुधबार, असार ४, २०७६

डोलराज गैरे : ‘भोपालका स्वाद’

हिमालखबर

सन् ८० को दशकमा काम खोज्दै भारत पुगेका एक पाल्पाली किशोर आज पूरै ‘भोपालका स्वाद’ बनेका छन्।  

- शब्द/तस्वीरः विकास रौनियार

साइकलमा सूपको व्यवसाय गर्दाको तस्वीरसँगै डोलराज गैरे ।

गएको १६ जेठ (मे ३०) मा भारत मध्यप्रदेशको राजधानी भोपालमा पीएचडी चेम्बर अफ कमर्शले ‘नेपाल–इण्डिया समिट’ आयोजना गरेको थियो । सम्मेलनमा छलफल गरिएका विविध विषयमध्ये एउटा थियो— नेपाल–भारत सीमा व्यापारका चुनौती, जसमा म एक वक्ताको रुपमा सहभागी थिएँ ।

सम्मेलनको उद्घाटन मध्यप्रदेशका नागरिक उड्डयनमन्त्री पीसी शर्माले गरे । शर्माले मन्तव्यका क्रममा भोपाल निवासी डोलराज गैरेको चर्चा गरे । नेपालबाट सन् १९८० को दशकमा आएका गैरेले भोपालमा उदाहरणीय व्यावसायिक सफलता हासिल गरेका रहेछन् । संयोगले गैरे पनि कार्यक्रममै रहेछन् ।

विरानो ठाउँमा नेपाली सफलताको चर्चा मात्रले पनि मलाई कौतूहल जगायो । कार्यक्रममा गैरेका छोरा सागर पनि आएका रहेछन् । उनैले आफ्नो चेन फूड आउटलेट देखाउने मन गरे । म त्यसै लोभिएँ । 

छोरा सागर गैरे ।

‘सागर गैरे साईकिल सूपवाला फास्ट फूड कर्नर’ का अहिले मध्यप्रदेशमा १५ वटा आउटलेट रहेछन् । भर्खरै इन्दोरमा नयाँ आउटलेट खुलेको रहेछ ।

डोलराजलाई यो सफलता हासिल गर्न १६ वर्ष लाग्यो । तर, समयको लम्बाइसँग संघर्षको गहिराइ तुलना हुन सक्तैन । 

कक्षा ८ को पढाइ सिध्याएर पाल्पाबाट काम खोज्दै किशोरवयमै नयाँदिल्ली हान्निएका डोलराजले त्यहाँ नपाउनु दुःख पाए ।

होटलमा काम गरे, चौकीदारी गरे, भाँडा माझे, सडकमा चिया बनाए । जति दुःख गरे पनि दिल्लीले उनलाई ‘दिल’ दिएन ।

गाउँका केही आफन्तहरू भोपालमा थिए, उनीहरूले उतै बोलाए । हार खाएका डोलराज भोपाल पुगे । 

भोपालमा पर्यटन विकास निगममा उनले सरकारी जागिर पाए । तर, तलब कम । दुई सन्तान सहितको परिवार पाल्नै मुश्किल ।

यो जागिरको फाइदा भने दिउँसो दुई बजेपछिको खाली समय थियो ।

डोलराजले त्यही खाली समयमा केही गर्ने विचार गरे । तर, के गर्ने ? पहिलेदेखि नै खाना बनाउन असाध्यै मन पर्ने भएकाले खानेकुराकै व्यापार गर्ने भन्ने त उनलाई सुझ्यो तर यसका लागि उनीसँग लगानी थिएन ।

सन् २००३ को एउटा मंगलबार साइकल पछाडि सूपले भरिएको भाँडो सहित सेफले लगाउने जस्तो ठूलो सेतो टोपी र ‘साईकिल सूपवाला’ लेखिएको सेतै एप्रोन लगाएर सडकमा उनी देखिए । घरका ढोका–ढोका र पसल–पसल गएर आलुको सूप बेच्न थाले । 

आफन्त, छिमेकी, साथीभाइ धेरैले यस्तो सानो काम किन गरेको भन्दै उनलाई हाँसोमा पनि उडाउँथे । गिज्याउँथे । केटाकेटीहरू परैबाट उनको टोपीमा ढुंगाले हान्थे ।

मात्र पाँच रुपैयाँमा १० नम्बर मार्केटमा साइकल राखेर सूप बेचिरहँदा यी साईकिल सूपवाला धेरैपटक लखेटिए पनि ।

तर, समयसँगै उनको सूप धेरैलाई स्वादिलो लाग्न थाल्यो । माग बढ्न थाल्यो । उनको श्रमको सम्मान हुन थाल्यो ।

१० नम्बर मार्केट जहाँबाट उनी लखेटिएका थिए, डोलराज त्यहीं एउटा कोठा भाडामा लिन्छन् । पछि कोठा नै किन्छन् र शुरु गर्छन्– सागर गैरे साईकिल सूपवाला । 

कुनै बेला एक्ला डोलराजसँग अहिले सबै आउटलेटमा गरी करीब ७०० जति कर्मचारी छन् । कम्तीमा ६ करोड भारु भन्दा बढीको लगानी भइसकेको छ ।

इन्जिनियरिङ सकेर विदेशिने कि भनेर कुनै बेला मन बनाएका छोरा सागर आफ्नै नामको यही ब्राण्ड पूरै भारतमा फैलाउन सकिन्छ कि भन्ने योजना बुनिरहेका छन् । 

अहिले डोलराजको सफलता र संघर्षका कथा विभिन्न संचारमाध्यममा प्रकाशित छन् । कार्यक्रमहरूमा भाषण दिन निमन्त्रणा आउन थालेको छ ।

उनलाई ‘भोपालका स्वाद’, ‘भोपाल पाकशालाका राजा’ समेत भन्न थालिएको छ ।

धेरैले यतिबेला उनलाई संघर्षको रहस्यबारे प्रश्न गर्छन् । त्यतिबेला उनी त्यही जागिरपछिको खाली समय सदुपयोग गर्नकै लागि सूप बेच्न थालेको सम्झन्छन् ।

“सफलताको कुनै ‘सर्ट कट’ सूत्र छैन, समयको सही सदुपयोग नै सफलता हो”, डोलराज (५१) भन्छन् ।  

प्रतिकृया दिनुहोस