गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको सम्भावित आर्थिक संकट टार्न गैरआवासीय नेपालीलाई लगानी गर्न आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघ युकेको आइतबार सम्पन्न वार्षिक साधारणसभामा उनले कोभिड–१९ को महामारीपछि आर्थिक संकटका संकेत देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानी आवश्यक रहेको बताए।
“विश्वमा देखिएको कोभिड–१९ को प्रभावका कारण भएको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि देखिएको छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने, “नेपाललाई यस्तो संकटमा पर्न नदिन संसारभरमा रहेका नेपालीले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी आवश्यक छ।”
नेपाल सरकारले गैरआवासीय नेपालीहरूका लागि डलरमा खाता खोल्न सक्ने व्यवस्था गरेकाले त्यसबाट लाभ लिन पनि ढकालले आग्रह गरे। लगानी गरेर राम्रो प्रतिफल लिन सकिने संसारका धेरै देशमध्ये नेपाल पनि एक रहेको बताउँदै उनले नेपालमा लगानीका धेरै सम्भावना रहेको बताए।