जेठमा विदेशी मुद्राको सञ्चितिमा सुधार, रेमिटेन्स बढ्यो
लगातार घटिरहेको विदेशी मुद्राको सञ्चितिमा जेठमा सामान्य सुधार आएको छ।
नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, जेठमा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ४५ करोड डलर पुगेको छ। वैशाखका तुलनामा जेठमा विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढेको हो। वैशाखमा नौ अर्ब २८ करोड डलर मात्रै सञ्चिति थियो।
यो सञ्चितिले ६ महीना २२ दिनको वस्तु र सेवाको आयातलाई थेग्छ। केन्द्रीय ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सात महीनाको वस्तु र सेवाको आयात थेग्ने सञ्चिति राख्ने लक्ष्य राखेको थियो।
रेमिटेन्सको आप्रवाहमा सामान्य सुधार आएकाले विदेशी मुद्राको सञ्चिति बढेको देखिएको छ। जेठमा ९२ अर्ब ३८ करोड रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको थियो। वैशाखका तुलनामा यो पाँच अर्बभन्दा धेरै हो।
राष्ट्र ब्यांकका अनुसार, चालु आर्थिक वर्षको ११ महीना अर्थात् जेठसम्म नेपालमा नौ खर्ब ४ अर्ब बराबरको रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षका तुलनामा ३.८ प्रतिशत बढी हो। अमेरिकी डलरमा पनि रेमिटेन्स १.५ प्रतिशतले बढेको छ।
त्यस्तै, जेठसम्म चालु खाता घाटा बढेर पाँच खर्ब ९६ अर्ब हाराहारी पुगेको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा झण्डै दोब्बर हो। जेठसम्म देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति दुई खर्ब ७० अर्बले घाटामा छ। वैशाखभन्दा जेठमा शोधनान्तर घाटा केही घटेको हो। वैशाखमा शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्बले घाटामा थियो।
चालु आर्थिक वर्षको ११ महीनामा नेपालले वैदेशिक व्यापारमा १५ खर्ब ७७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। यो अवधिमा नेपालले १७ खर्ब ६३ अर्बको सामान आयात गरे पनि एक खर्ब ८६ अर्बको मात्रै निर्यात गरेको छ।