कोइराला पक्षको निष्कर्ष- सरकारका कामकाजको गम्भीर समीक्षा हुनुपर्छ
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले सरकारका कामकाजको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको छ।
काठमाडौंको विशालनगरमा आइतबार बसेको डा. कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामकाजको गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।
डा. कोइराला पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भने, “आजको बैठकमा केन्द्रीय कार्यसमितिको बैठकमा सरकारका कामकाजको गम्भीर समीक्षा हुनुपर्छ भन्ने कुरा उठेको छ।”
यससँगै डा.कोइराला पक्षको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाको विषय पनि उठेको छ। त्यस्तै, सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे पनि केन्द्रीय कार्यसमिति बैठकमा समीक्षा गर्नुपर्नेमा जोड दिएको छ।
कांग्रेसलाई विधिमा चलाउनुपर्ने विषय पनि उठेको उनले बताए। “सभापतिजीले भातृ संस्था र विभाग समयमै गठन गर्नुपर्छ,” नेता भण्डारीले भने, “कांग्रेसले अरूलाई गाइड गर्ने हो।”
आफ्नो विधान पालना गर्नुपर्ने विषयमा पनि छलफल भएको उनले बताए। नेता भण्डारीले भने, “आफ्नो विधान पालना नगर्नेले अरूले संविधान मिच्यो भनेर कसरी भन्न सक्छ?”
कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावको समीक्षासँगै समसामयिक राजनीतिबारे छलफल गर्न सोमबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। त्यसअघि आफ्नो रणनीति तय गर्न आज डा. कोइराला पक्षको बैठक बसेको हो। डा. कोइराला पक्षको बैठकमा महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी लगायत नेताहरू सहभागी थिए।