जसपा फुटको सँघारमा, उपेन्द्र र बाबुरामले बोलाए छुट्टाछुट्टै बैठक
जनता समाजवादी पार्टी (जसपा) फुटको सँघारमा पुगेको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका छन्।
अध्यक्ष यादवले असार २९ र ३० गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन्। भट्टराईले त्यसभन्दा एक दिनअघि असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन्।
यादवले वीरगञ्जमा बोलाएको बैठकमा पार्टीमा देखिएको मतभेदका विषयमा छलफल हुने जनाइएको छ। यससँगै स्थानीय तहको चुनाव समीक्षा र आगामी चुनावको तयारीका विषयमा छलफल हुने भएको छ।
त्यस्तै, भट्टराईले काठमाडौंमा बोलाएको बैठकमा समसायमिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।
यससँगै पार्टीको आन्तरिक विवाद, स्थानीय चुनावको समीक्षा, र आगामी चुनावको तयारीबारे छलफल हुने पदाधिकारी र केन्द्रीय सदस्यलाई पठाएको पत्रमा उल्लेख छ।
भट्टराईले बोलाएको बैठकलाई भने यादव पक्षले विरोध जनाएको छ। जसपा केन्द्रीय कार्यालय प्रमुखले जारी गरेको विज्ञप्तिमा ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णय विपरीत काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको भनेर भ्रम फैलाइएको बुझिन आएको’ उल्लेख गरेका छन्।