पाँच वर्षमुनिका दुई बालबालिका सहित २७ जनामा हैजा
काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन्। शनिबारसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा हैजा देखिएको हो। हैजा देखिएकामध्ये दुई जना ५ वर्षमुनिका बालबालिका रहेका छन्।
त्यस्तै, ५ देखि १४ वर्षसम्मका चार बालबालिकामा हैजा देखिएको छ। यसै गरी ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।
हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ। अन्य बिरामी निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको सङ्ख्या बढ्दै आएको छ।
अहिले बागबजारसँगै काठमाडौंको डिल्लीबजार, कपन र बोहराटार तथा ललितपुरको सानेपा क्षेत्रमा हैजाका बिरामी देखिएका हुन्।