अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति
स्थानीय तहको चुनावमा भएको अन्तर्घात छानबिन गर्न नेकपा (माओवादी केन्द्र)ले छानबिन समिति गठन गरेको छ।
बुधबार बसेको माओवादी स्थायी समितिको बैठकले छानबिन समिति गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गदै महराले भने, “स्थानीय निर्वाचनमा घात-अन्तर्घात भयो पार्टीभित्रबाटै। जसमा केन्द्रीय सदस्यसम्मका नाम आएकाले छानबिन समिति बनेको छ।”
माओवादीले अनुशासन विभागका संयोजक टंक राईको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा केन्द्रीय सदस्यहरू मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको महराले बताए।
त्यस्तै, अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न पनि समिति गठन गरिएको छ। रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको महाराले बताए।
माओवादी स्थायी समिति बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पनि तयारी शुरू गरेको छ। केन्द्र र प्रदेशबीच समन्वय गर्न प्रदेश इन्चार्जको नेतृत्वमा समन्वय समिति गठन गरिएको उनले जानकारी दिए।
समन्वय समितिमा प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य प्रदेश समितिका पदाधिकारी सदस्य रहनेछन्।
त्यस्तै, माओवादीले चुनावी तयारीका लागि प्रदेशमा प्रशिक्षण र बैठक गर्ने भएको छ। साउन १८ गते गण्डकी प्रदेशमा, साउन २० गते प्रदेश १ मा, साउन २४ गते लुम्बिनीमा, साउन २९ गते कर्णालीमा, साउन २८ गते सुदूरपश्चिममा, साउन ३० गते विशेष प्रदेशमा, भदौ १ गते सम्पर्क समन्वय समिति र भदौ ३ गते प्रवास विशेष प्रदेशमा प्रशिक्षण कार्यक्रम गरिने भएको छ।