महँगीले खर्च बढेको भन्दै संघ र प्रदेशको चुनाव गराउन आयोगले माग्यो १० अर्ब
महँगीले गर्दा सबै खर्च बढेको जनाउँदै निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सरकारसँग १० अर्ब माग गरेको छ।
सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी चुनावबारे छलफल गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगको टोलीले मंसीर २ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्न प्रस्ताव गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि १० अर्ब लाग्ने आयोगले जनाएको छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सात अर्ब ८० करोड खर्च भएको आयोगको टोलीले प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ।
अहिले महँगी बढेकाले चुनाव गराउन खर्च पनि बढ्ने आयोगको भनाइ छ। एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गराउन १० अर्ब खर्च लाग्ने आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
आयोगले भनेको छ, ‘हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता सङ्ख्यामा भएको वृद्धि, मतदान स्थल मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हाल बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रास्फीति समेतका कारणबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ सम्पन्न गर्न करीब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेश गरिएको छ।’