चार महीनापछि सय नाघे कोरोना सङ्क्रमित

कोरोनाभाइरसको सङ्क्रमण फेरि उकालो लागेको छ। आज चार महीनापछि एक सयभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज ११३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ। यसअघि गत फागुन २६ गते ११२ जनामा कोरोना देखिएको थियो। त्यसपछि सङ्क्रमितको सङ्ख्या घट्दै आएको थियो।
एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, आज दुई हजार ७२४ स्वाब परीक्षण गर्दा ११३ जनामा कोरोना देखिएको हो।
बुधबार एक हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा र एक हजार १७५ जनाको एन्टिजेन परीक्षण हुँदा २३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ।