चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगका पदाधिकारी
निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लागेका छन्।
संघ र प्रदेशको चुनाव मिति तोक्ने विषयमा छलफल गर्न आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँग छलफल गर्ने तय भएको छ।
प्रधानमन्त्रीसँगको भेटमा आयोगका पदाधिकारीले चुनावको मिति प्रस्ताव गर्ने एक निर्वाचन आयुक्तले बताए। उनका अनुसार, आगामी कात्तिक ३० गतेदेखि मंसीर ५ गतेभित्र निर्वाचनको मिति तोक्न आयोगले प्रस्ताव गर्ने भएको छ।
आज आयोगले प्रस्ताव गर्ने मिति सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिनेछ। सकभर मन्त्रिपरिषद्को अब बस्ने बैठकले निर्वाचनको मितिबारे निर्णय गर्नेछ।
आयोगले संघ र प्रदेशको चुनाव एकै पटक गर्न सकिने निर्क्योल गरेको छ। त्यसै अनुसार प्रधानमन्त्री देउवालाई प्रस्ताव गरिने भएको छ।