बजेटबारे विवाद बढेपछि अर्थ सचिव मरासिनी बिदामा
बजेट विवाद बढ्दै गएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। बुधबारदेखि लागू हुने गरी उनी बिदामा बसेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेको छ। अर्थ मन्त्रालयले त्यस वेलाको सीसीटीभी फुटेज मेटिइसकेको भन्ने जानकारी दिएपछि विवाद अझ चर्किएको छ। स्वार्थ समूहले करको दर हेरफेर गर्दा अर्थ सचिव मरासिनीले प्रतिवाद नगरेको भनी उनीमाथि पनि आलोचना सोझिएको छ। यही पृष्ठभूमिमा उनी बिदामा बसेका हुन्।
अर्थमन्त्री शर्माले बुधबार आफूमाथि लागेका आरोपका विषयमा संसदमा जवाफ दिंदै छन्। बजेटका विषयमा संसदीय छानबिन समिति गठन गर्न सांसद, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व न्यायाधीशहरूले माग गरेका छन्।