फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। सोमबार बसेको निगम व्यवस्थापनको बैठकले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ।
जसअनुसार, पेट्रोल प्रति लिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर नौ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोल प्रतिलिटर १८१, डिजेल र मट्टीतेल प्रतिलिटर १७२ रुपैयाँ भएको छ।
त्यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रुपैयाँले बढाएको छ। अब हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १९० रुपैयाँ भएको छ।
निगमले एलपी ग्यास र बाह्यतर्फको हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। एलपी ग्यास प्रति सिलिन्डर एक हजार आठ सय नै रहेको छ।
इन्डियन आयल कर्पोरेशन लिमिटेडले १ जुलाईमा पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले समायोजन गर्नुपरेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ।
यसअघि असार ११ गते सरकारले कर छूट दिने निर्णय गरेको थियो। जस अनुसार, निगमले पेट्रोलमा प्रति लिटर २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर २९ रुपैयाँ घटाएको थियो।