नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
तीनै जना जनता समाजवादी पार्टी (जसपा)का हुन्। यसअघि सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई जसपाले फिर्ता बोलाएको थियो।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए।