माओवादी र एकीकृत समाजवादीसँग कुराकानी भइरहेको छ: एमाले प्रवक्ता

नेकपा (एमाले) प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा सहकार्य तथा एकताका विषयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूसँग कुराकानी भइरहेको बताएका छन्।
एमाले सचिवालय बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै आगामी चुनावमा गठबन्धन गर्ने प्रयास भइरहेको बताए। “हामी पनि आफ्नो हातखुट्टा बाँधेर बस्ने स्थिति हुँदैन। सबैले आफ्नो खेलोफट्को गरिहाल्छन्,” सुब्बाले भने, “अहिलेको समीकरण भत्किने, कमजोर बन्ने देखिन्छ।”
आगामी चुनावमा माओवादी र एकीकृत समाजवादीसँग गठबन्धनका लागि छलफल भइरहेको छ भन्ने प्रश्नमा एमाले प्रवक्ता सुब्बाले भने, “पार्टीले टीम नै बनाएर कसैसँग वार्ता भएको छैन। अहिलेको प्रतिस्पर्धाको राजनीतिमा व्यक्ति व्यक्ति स्तरमा कुराकानी भइराखेकै छ।”
माओवादी र एकीकृत समाजवादीका नेताहरूसँग भइरहेको छलफल पनि सकारात्मक नै रहेको उनको भनाइ थियो। “अहिले नै सबै कुरा निर्क्योल गर्न सकिंदैन, कुरा नेगेटिभ पनि छैन,” सुब्बाले भने।
यससँगै एमालेले गठबन्धन सरकारले गरेका गलत कामको भण्डारफोर गर्ने निर्णय भएको सुब्बाले बताए। देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन हुने उनको भनाइ छ।
त्यही क्रममा एमालेले प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। त्यसका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ।
प्रदेशस्तरीय प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा सुरेन्द्र पाण्डे, बागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवाली खटाउने निर्णय भएको उनले बताए।